रुकुम पस्चिम- देश ब्यापि अभियान अन्तर्गत नेकपा एमाले रुकुम पश्चिमले आज जिल्ला सदरमुकाम मुसिकोट–खलङ्गामा भव्य जनसभा सम्पन्न गरेको छ। संसद् पुनर्स्थापना र जेन–जी आन्दोलनको निष्पक्ष छानबिनको मागसहित वडा र पालिकाबाट सुरु भएको कार्यक्रम आज जिल्ला स्तरीय जनसभामा रूपान्तरित भएको हो।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदत्याग गर्नुपरेको र २७ भदौमा प्रतिनिधि सभा विघटन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको प्रसंगलाई उल्लेख गर्दै, एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै निरन्तर पुनर्स्थापनाको माग गर्दै आएको जनाएको छ।
सरकारमाथि दबाब बढाउने उद्देश्यले आयोजित आजको जनसभा अघि मुसिकोटमा मोटरसाइकल र्याली निकालिएको थियो। त्यसपछि नाराबाजीसहित खलङ्गा बजार परिक्रमा गरी बाल मन्दिर परिसरमा सभा सम्पन्न गरिएको थियो। र्याली तथा सभामा संसद् पुनर्स्थापना, जेन–जी आन्दोलनको छानबिन र दोषीमाथि कडा कारबाहीका मागहरू प्रमुख रूपमा उठाइए।
जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय सल्लाहकार समिति सदस्य गोविन्द के सि को प्रमुख आथित्यता रहेको थियो। प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटिका पदाधिकारि तथा पालिका कमिटि अध्यक्षहरु लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
उपाध्यक्ष मनवीर घर्तीको स्वागत मन्तव्य रहेको कार्यक्रम जिल्ला सचिव शशीराम नेपालीले सञ्चालन गरेका थिए। सभाका क्रममा दुई जना नयाँ सदस्यले एमाले पार्टी प्रवेश गरेकाे जिल्ला कमिटीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्