जाजरकोटमा घरेलु कार्यलयले बजार अनुगमन:भीआईपी गाडी लस्कर मात्र नतिजा शून्य



जाजरकोट।जिल्लाभर म्याद नाघेका खाद्य तथा उपभोग्य वस्तुको निगरानी गर्ने उद्देश्यले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, खलङ्गा जाजरकोटले गरेको अनुगमन प्रभावहीन बन्दै गएको स्थानीय बासिन्दाको गुनासो छ। कोचाकोट बजारमा गरिएको दुइदिने अनुगमन तथा पछिल्ला दुई दिन दुइ स्थानीय तहमा गरिएको अनुगमन — खर्च बाहेक कुनै परिणाम देखिन नसकेको आरोप स्थानीयले लगाएका छन्।

अनुगमन टोलीले भीआईपी गाडी, ठूलो लस्कर, फोटो खिचाइ र औपचारिकतामा बढी समय बिताउने गरेको देखिन्छ। धेरै पसलमा म्याद गुज्रिएका सामान खुलेआम बिक्री भइरहे पनि न कारबाही भयो, न दण्ड–जरिवाना, न सुधारका ठोस कदम—सबै काम ‘कागजमै सिमित’, स्थानीयको बुझाइ छ।

बजारमा म्याद सकिएका वस्तु बढ्दै गएको बेला अनुगमन टोलीले दुर्गम पालिकातिर कहिल्यै नछिर्ने आलोचना पनि उब्जिएको छ।

स्थानीयको भनाइमा,

“रकम सकाउनका लागि कार्यालयले जिल्ला वरपरका सजिला बजार मात्रै अनुगमन गर्छ। दुर्गम पालिका तिर कहिल्यै जान चाहँदैन। त्यही भएर त्यहाँ म्याद–नाघेका सामान झन् धेरै खुलेआम बेचिन्छन्।”

अर्का उपभोक्ता अधिकारकर्मी भन्छन्,

“अनुगमनको सूचना आउँछ, गाडी दगुर्छ, फोटो खिचिन्छ। तर उपभोक्तालाई सुरक्षित बनाउने वास्तविक प्रयास कहीं देखिँदैन। दूरदराजका बस्तीअनुसार अनुगमन विस्तार गर्नुपर्नेमा उल्टै नजिकका बजारमै चक्कर लगाउने चलन छ।”

यसरी अनुगमनभन्दा भ्रमण बढी देखिने सरकारी शैलीका कारण बजार झन् अव्यवस्थित हुँदै गएको र उपभोक्ता अधिक जोखिममा परेको स्थानीयको धारणा छ।

 

प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार