हाब्रेको बासस्थान क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न



जाजरकोट, असार ७ । जैविक मार्गको सुधार गरि हाब्रेको बासस्थान संरक्षण र सन्तुलन कायम राख्ने उद्देश्यले रेडपाण्डा नेटवर्कले जाजरकोटको हाब्रेको बासस्थान क्षेत्र रहेको बारेकोट गाउँपालिका ४ मा रहेको ढोटाचौर समुदायक वन क्षेत्र भित्र पर्ने धामधुममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। स्रोतका अनुसार ८.५ हेक्टर क्षेत्रफल रहेको यस क्षेत्रमा यो आर्थिक बर्षमा हाब्रेको आहारा ६ हजार बिरुवा रोपिएका छन भने गतवर्ष यहि क्षेत्रमा १२ हजार बिरुवा रोपिएको थियो।

स्थानीय समुदायको सक्रिय सहभागिता र साझेदार संस्था डाँफे युवा क्लबको सहकार्यमा सम्पन्न यस वृक्षरोपण अभियानले वनको हरियाली विस्तार गर्न, हाब्रे लगाएत अन्य वन्यजन्तुको प्राकृतिक बासस्थान सुरक्षित गरि जैविक मार्ग निर्माणमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको रेडपाण्डा नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेले जनाए।

परियोजना अन्तर्गत रोपिएका बिरुवाहरूमा मुख्यतः हाब्रेको प्राकृतिक आवास अनुकूल प्रजातिहरू – पाकमेल, सल्लो, लालीगुराँस , निगालो र अन्य स्थानीय जातका विरुवाहरू समावेश गरिएको छ।
घलेले भने, “हाब्रे संरक्षण परियोजना बाट कर्णालीको उच्च हिमालीको सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षण र सन्तुलन राख्नु हाम्रो लक्ष्य हो। यस अभियानले हाब्रेको बासस्थान सुधार ल्याउनुको साथै स्थानीय जनसमुदायलाई हरित-रोजगार सिर्जना गरी प्रत्यक्ष लाभ पुर्‍याउनु समेत रहेको बताए ।
रोख रोपौ वन जोगाउ !

प्रकाशित मिति : २०८२ असार ७ गते शनिबार