देश डुब्न लागेको संकेत: कानुन कागजमा, अराजकता व्यवहारमा



जाजरकोट।देशभर कानुनी शासनको नाममा लज्जास्पद अवस्था देखिँदैछ। कानुन त छन्, तर कार्यान्वयनको शून्यता र जिम्मेवार निकायहरूको अकर्मण्यताले समाजलाई अराजकतातर्फ धकेल्दै लगेको छ। न त अपराधीलाई सजाय हुन्छ, न त कुनै सुधारको संकेत देखिन्छ।

विद्यालयहरू ज्ञानको मन्दिर कि लापरबाहीको अखडा?

देशभर विद्यालयहरू खुल्ने समय भएको छ, शिक्षकहरू जागिरमा छन्, तर पढाइ भने शून्य छ शिक्षक रोडमा छन।बिधार्थी हरू भविष्यका कर्णधार भनिए पनि, तिनलाई शिक्षाको उचित पहुँच छैन। कतिपय विद्यालयभित्रै शिक्षकहरू रक्सी सेवन गर्छन्, अनुशासनहीन व्यवहार प्रदर्शन गर्छन्। शिक्षा दिनेहरू नै आफ्नो जिम्मेवारीबाट भाग्ने हो भने, भावी पुस्ताको भविष्य के हुन्छ?

जंगल जोगाउनेहरू नै मासु खाने गिरोहमा!

वन कार्यालयहरू जनावर र वनजंगलको सुरक्षा गर्न बनेका हुन्। तर व्यवहार ठीक उल्टो छ। संरक्षणको नाममा ठूल्ठूला योजनाहरू आउँछन्, तर वन अधिकृतहरू नै चोरी शिकारीमा संलग्न देखिन्छन्। संरक्षित जनावरहरू मारेर मासु खाइन्छ, तस्करी मौलाउँछ। वन जोगाउने नाममा बजेट आउँछ, तर वास्तविकता भने विनाशकै दिशामा गइरहेको छ।

ठेकेदारको लापरबाही, पुलहरू अलपत्र, जोखिममा नागरिक

देशभर विकासका नाममा ठूला-ठूला परियोजनाहरू आउँछन्। पुल निर्माण, सडक मर्मत, यातायात सुधारका लागि करोडौँको बजेट छुट्याइन्छ। तर परिणाम? आधा बनेर छोडिएका पुलहरू, जर्जर सडकहरू, भ्रष्टाचारका दलदलमा फसेका विकास योजना! ठेकेदारहरू पैसा असुलेर भाग्छन्, जिम्मेवार निकायहरू चुपचाप बस्छन्।

कारबाही गर्ने निकाय खोजेर भेटिन्न!

अराजकताको यो अवस्था यत्तिकै आएको होइन। कानुनी संरचना त छन्, तर कानुन कार्यान्वयन गर्ने निकायहरू नै अपराधीहरूसँग साँठगाँठमा लागेका छन्। अपराधीहरू खुला घुम्छन्, पीडितले न्याय पाउँदैनन्, भ्रष्टाचार मौलाउँछ। देशलाई चलाउने भनिएका निकायहरू बेपत्ता जस्तै छन्।

प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार