जाजरकोट बारेकोट । मलस्याँप्रोको लखेटाइबाट गाउँसम्म पुगेको रेडपाण्डाको उद्धार गरी पुनः प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छोडिएको छ। बारेकोट गाउँपालिका–८ स्थित सेपुखोला सामुदायिक वनबाट लखेटिँदै कोल्लेनी गाउँसम्म पुगेको रेडपाण्डालाई स्थानीयहरूको सक्रियतामा उद्धार गरी प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छोडिएको बारेकोट सब डिभिजन बन कार्यलयमा कार्यरत सहायक वन अधिकृत नबराज बुढाले जानकारी दिएका छन ।
शनिबार जंगलबाट मलस्याँप्रोको लखेटाइबाट गाउँ झरेको रेडपाण्डा लाई घरपालुवा कुकुरहरूले पनि लखेटेका थिए। त्यसक्रममा ज्यान जोगाउन रेडपाण्डा कोल्लेनी गाउँ नजिकैको नुनाल जंगलमा रहेको ढुङ्गाको दुलोमा पस्न सफल भएको थियो। सोही दुलोबाट स्थानीय हरिश कुमाइले रेडपाण्डालाई निकालेर डोकोले छोपेर सुरक्षित राखेका थिए। उद्धारको क्रममा रेडपाण्डाले कुमाइको हात समेत टोकेको बुढाले जनाए।
रेडपाण्डालाई सुरक्षित रूपमा उद्धार गरी जंगलमा पुनः छोड्न सेपुखोला सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मान बहादुर सिह, सेपुखोला भेटेनरी साखामा कार्यरत कर्मचारी गोविन्द बहादुर सिंह तथा प्रहरी चौकी सेपुखोलाका इञ्चार्ज सहितको प्रहरी टोली लाई परियोजनाले परिचालन गरेको थियो।
संबन्धित सरोकारवाला सबैको उपस्थितिमा शनिबार नै औपचारिक मुचुल्का तयार पारेर रेडपाण्डालाई पुनः प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छोडिएको हो । उक्त बासस्थानमा थप अनुसन्धानको लागि सब डिभिजन बन कार्यालय बारेकोटको सहकार्यमा बिगत सात बर्ष देखि रेडपाण्डा नेटवर्कको सहयोगमा रेडपान्डाको संरक्षण क्षेत्रमा काम गर्ने संस्था डाँफे युबा क्लबको प्राबिधिक टिम जाने तयारी गरेको डाँफे युबा क्लबमा कार्यरत मोहन सिहं ले जानकारि दिएका छन।










प्रतिक्रिया दिनुहोस्