जाजरकोटमा नेकपा (एस) को छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक



जाजरकोट, चैत २२ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जाजरकोटले छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ। बुधबार जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमार्फत लोगो सार्वजनिक गरिएको हो।

नेकपा (एस) का केन्द्रीय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण विसीका अनुसार यही चैत २५ र २६ गते अधिवेशन आयोजना गरिनेछ। अधिवेशनको मूल नारा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ राखिएको छ। सार्वजनिक लोगोमा रेडपाण्डा, खलंगा बजार, नेपालको झण्डा, पार्टीको चुनाव चिन्ह र कम्युनिष्ट झण्डा समावेश गरिएको छ।

जिल्ला इन्चार्ज विसीले अधिवेशनको उद्घाटन महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यतामा गरिने जानकारी दिए। साथै, उनले मुलुक गम्भीर संकटमा रहेको उल्लेख गर्दै राजावादी सडकमा विरोध गरिरहेको र सत्तारूढ दलहरू जनविरोधी गतिविधि गरिरहेको आरोप लगाए। देशलाई संकटबाट जोगाउन गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने उनले बताए।

अधिवेशनलाई भव्य बनाउने तयारी भएको नेकपा (एस), जाजरकोटले जनाएको छ। कार्यक्रममा कुशे गाउँपालिकाको प्रसिद्ध ‘खाँडो नाच’, राष्ट्रिय कलाकारहरूको प्रस्तुति तथा झाँकी प्रदर्शन समेत गरिनेछ।

 

प्रकाशित मिति : २०८१ चैत १२ गते बुधबार