नलगाडमा स्वास्थ्य इकाई प्रमुख एक महिनादेखि बेपत्ता, सेवा प्रवाह ठप्प



जाजरकोट ।  नलगाड नगरपालिका–१३ सिउनमा रहेको सामुदायिक स्वास्थ्य इकाईका प्रमुख मोतिराम विष्ट एक महिनादेखि हाजिर नभएको पाइएको छ। गत फागुन १७ गतेदेखि अनुपस्थित रहेका विष्ट कार्यालयमा नआउँदा स्थानीयवासी आवश्यक स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।

स्थानीयहरूले प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख विष्ट बारम्बार विदा नलिई बेपत्ता हुने, पछि एकमुष्ट हाजिर गर्ने गरेको आरोप लगाएका छन्। वर्थिङ सेन्टरको सामग्री खरिद गर्न गएका भनिएका विष्ट हालसम्म फिर्ता नआएको गुनासो गरिएको छ।

स्वास्थ्य इकाई प्रमुख स्वास्थ्य सेवा प्रवाह गर्नुभन्दा राजनीतिक दलका कार्यक्रममा सक्रिय हुने गरेको भन्दै स्थानीयले कारबाहीको माग समेत गरेका छन्। यसैबीच, आक्रोशित स्थानीयहरूले इकाईमा ताला लगाएका थिए, जसका कारण सेवा पूर्ण रूपमा ठप्प भएको थियो। पछि स्थानीय सल्लाहमा ताला खोलिए पनि स्वास्थ्य सेवा अझै सामान्य हुन सकेको छैन।

प्रमुख विष्टलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको जनाइएको छ। स्थानीयहरूले स्वास्थ्य क्षेत्रमा भएको लापरवाहीप्रति कडा आपत्ति जनाउँदै अविलम्ब समाधानको माग गरेका छन्।

 

प्रकाशित मिति : २०८१ चैत ११ गते मंगलबार